अदालतको आदेशपछि पूर्वगृहमन्त्री र पूर्वआइजिपीविरूद्ध जाहेरी दर्ता

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालविरूद्ध जाहेरी दर्ता गरेको हो।

Advertisement

सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा ५ असार २०७६ मा मारिएका थिए। यही प्रकरणमा तत्कालीन गृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनाल पनि जोडिएका थिए।

‘जाहेरी दर्ता भएको छ, अब बाँकी अनुसन्धानको प्रक्रिया अघि बढ्छ, ’सर्लाहीका एसपी सन्तोषसिंह राठौरले सेतोपाटीसँग भने, ‘अनुसन्धान अनुसार नै प्रतिवादीलाई उपस्थित गराउने पक्राउ पुर्जी जारी गर्नेलगायत कानुन अनुसार अघि बढ्नेछ।’

पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन।

कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न असोज १२ मा आदेश दिएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालको दोष देखाएको थियो। २०७६ असार ५ गते दिउँसो पौडेलेको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको भनिएको थियो। तर, पछि मानव अधिकार आयोगको छानबिन टोलीले भने विपरीत निष्कर्ष निकाल्यो।

आयोगले इन्काउन्टर नभई हत्या गरिएको निष्कर्ष निकालेको थियो। त्यसपछि आयोगले इन्काउन्टरको निर्देशन दिने तत्कालीन आइजिपी खनालसम्मलाई कारबाहीको दायरामा ल्याउन माग पनि गरेको थियो।

More News last news
Loading...