आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । सरकारले आजदेखि दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको जानकारी दिए ।

“म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,” महासचिव सिटौलाले भने।

Advertisement

बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताए।

नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ। काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

‘यात्रु सहायता कक्ष’ सञ्चालन

यसैबीच काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ । बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन् ।

नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुनसक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

हाल काठमाडौँको नयाँबसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकासँग ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नयाँ बसपार्कबाट सुरु भएको ‘यात्रु सहायता कक्ष’ गौशाला, बल्खु, कोटेश्वर, सातदोबाटो, कलङ्की, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाति, सुन्धारा, रत्नपार्क र फर्पिङमा सञ्चालन हुने जनाइएको छ ।

More News last news
Loading...