स्याङ्जा । आफ्नै गृह जिल्लामा एकपछि अर्को अनेपेक्षित हार भोग्दै आएका नेपाली कांग्रेसमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई पुनः अर्को धक्का लागेको छ । कांग्रेस पूर्व उपसभापति एवं पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले आफ्नो पकेट नगर ठान्दै आएको वालिङ नगरपालिकामा समेत पराजय भोगेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भर्खरै सम्पन्न मतपरिणाम अनुसार उनको समूहका भुपराज बगालेलाई पराजीत गर्दै भोजराज अर्याल निकट नेत्र प्रसाद पाण्डेय नगर सभापतिमा विजयी भएका हुन् ।पाण्डेलाई कांग्रेस जिल्ला सभापतिका उम्मेद्वार राजु थापाको समेत समर्थन थियो ।पाण्डेले २४९ मत ल्याउँदा बगालेले जम्मा १९० मत पाए ।
कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय सभापतिको दाबेदारीमा उत्रिएका श्रेष्ठलाई एकपछि अर्को अनपेक्षित नतिजाले निकै दबाबमा परेका छन् । जिल्लाको स्थानीय र गाउँ तहमा खुलेरै हस्तक्षेपमा उत्रिएका कारण उनलाई उनकै समूहबाट घात हुन थालेको स्रोतको दाबी छ ।
यसअघि नतिजा सार्बजनिक भएका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा थापा निकट उम्मेद्वारहरु बिजयी भएका थिए। अन्य २ स्थानीय तहमा पनि श्रेष्ठ निकटका उम्मेद्वार मात्र नभई साझा उम्मेद्वारहरु बिजयी भएका थिए।
यता, कालिगण्डकी गा.पा. मा पनि प्रतिनिधि सभा सदस्य मोहन पाण्डे निकट नरबहादुर थापा बिजयी भएका छन् । थापाले निकतम प्रतिद्वन्द्वी श्रेष्ठ समूहका यामप्रसाद पाण्डेलाई पराजीत गरेका हुन् । थापालाई पनि नेता राजु थापाले समेत समर्थन गर्दै साझा उम्मेद्वार बनाएका थिए ।
११ स्थानीय तह रहेको स्याङ्जामा कालिगण्डकी गाउँपालिको परिणाम आएसँगै सबै तहमा काँग्रेसको पालिका अधिवेशन सकिएको छ । वडा अधिवेशन देखि नगर अधिवेशनसम्मको परिणाम हेर्दा समग्र जिल्लामा थापा पक्ष निकै बलियो देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
