पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठ समूहले गृह जिल्ला स्याङ्जामा नराम्रो पराजय भोगेको छ । स्याङ्जाका ११ वटा पालिकामध्ये ९ पालिकामा हिजो सम्पन्न अधिवेशनमा नराम्रो पराजय भोगेको हो ।
जिल्लामा अधिवेशन सम्पन्न भएका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा जिल्ला सभापतिका प्रत्यासी तथा संविधान सभा सदस्य राजु थापा निकट उम्मेद्वारहरु बिजयी भएका छन् । अन्य स्थानीय तहमा पनि श्रेष्ठ निकटका उम्मेद्वार मात्र नभई साझा उम्मेद्वारहरु बिजयी भएका हुन्।
यसरी थापा निकट बिजयी भएका स्थानीय तहमा पुतलीबजार न.पा. (सुरज कुमार अधिकारी), फेदिखोला गा.पा. (महेन्द्र थापा), विरुवा गा.पा. (डोलराज पोखरेल), हरिनास गा.पा. (टोपबहादुर भुजेल), भीरकोट न.पा. (यामप्रसाद अधिकारी लक्ष्मण), आधिखोला गा.पा. (नरेन्द्र पौडेल) र अर्जुनचौपारी (बिष्णु काफ्ले) रहेका छन्। अधिकांश पालिकाका पदाधिकारीहरु उपसभापति, सचिव र सहसचिवमा पनि थापा टिमकै बर्चस्व रहँदा श्रेष्ठ समूहको ‘क्लिन स्वीप’ भएको छ।
यस्तै, २ स्थानीय तहमा गल्याङ नगरपालिकामा बिजयी भएका श्याम प्रसाद बस्याल वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण निकट मानिन्छन् भने चापाकोटमा निर्विरोध निर्वाचित भएका बिक्रम सारु प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल समूह निकट मानिन्छन्।
यसरी पालिका स्तरीय परिणाम हेर्दा गोपालमान श्रेष्ठ समूह जिल्लामा ‘क्लिन स्विप’ भएको छ भने थापा पक्ष थप बलियो हुँदै गएको छ।
यता, श्रेष्ठकै गृह नगर पुतलीबजारमा लज्जास्पद हार व्यहोर्नु परेको छ । आफ्नै नाती विक्रान्त कुमार श्रेष्ठ (सुवर्ण) लाई उम्मेद्वार बनाउँदा पराजय भोग्नु परेको हो । नातीलाई उम्मेद्वार बनाएको भन्दै उनकै समूहमा लामो समयदेखि राजनीति गरेर काधमा काध मिलाएका केहि पुराना नेताहरु श्रेष्ठसँग रुष्ट बनेका थिए । पु.ब.न.पा. मा थापा समूहका अधिकारीले २३२ मत ल्याउँदा श्रेष्ठ समुहका उमेद्वारले जम्मा १ सय ८ मत मात्र प्राप्त गरे ।
स्याङ्जाका २ स्थानीय तह वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा भने आज अधिवेशन हुँदै छ। जिल्ला निर्वाचन समितका अनुसार आज अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन हुन्छ । वालिङ न.पा. मा निर्वाचन प्रक्रिया अगाडी बढिसकेको र कालिगण्डकी गा.पा. मा सहमतिको प्रयास भईरहेको र सहमति नभए त्यहाँ पनि निर्वाचन हुनेछ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका र आसन्न महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका श्रेष्ठले वडा तहमा समेत हस्तक्षेप गर्नु र आफ्नो परिवारलाई मात्र राजनीतिमा हावी गराउन खोज्नु नै श्रेष्ठका लागि घातक भएको उनी निकट जिल्ला तहका नेताहरु बताउँछन् ।
यसअघि श्रेष्ठको गृह वडा पुतलीबजार न.पा. वडा ३ मा आफ्ना दुई छोरालाई क्षेत्रीय प्रतिनिधि बनाउनका लागि पटक–पटक दबाद दिँदा वडामा समेत विवाद उत्पन्न भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
