आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल खुल्दै, कहाँ कहाँ खुल्दैछन् ?

काठमाडौँ । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी शुक्रबार (आज) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ। सरकारले आम उपभोक्ताको सहजका लागि शुक्रबारदेखि आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए।

Advertisement

हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। प्रमुख कार्यकारी अधिकृत चन्दले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए।

यी स्थानमा खुल्दैछन् सुपथ पसल

उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ।

त्यस्तै उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदैछ।

यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन्।

सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछ । सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपैयाँ छुट गरिएको छ। त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपैयाँ छुट गरिएको छ।

More News last news
Loading...