काठमाडौँ । आज मंगलबार बिहानै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । बिहानै मात्र भएका छुट्टा छ्ट्टै दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।
नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट–१० स्मृतिपुल नजिकै सु.प. ०२–००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन।
दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।
यस्तैगरी, कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।
बाणगंगा–८ चप्परगाँउमा मंगलबार बिहान ठक्कर दिने ग १ त ५६०३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय सुदीप थारुको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । दुर्घटनामा कमल चौधरी र सुशील चौधरी घाइते भएका छन्।
घाइतेका कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार भइरहेको छ । चालक प्रहरीको नियन्त्रणमा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
