कुलमानको निर्देशन, झ्याप्प झ्याप्प बत्ती जाने गुनासो सुन्नु नपरोस्

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ। विना जानकारी झ्याप्प-झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका समस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन्।

Advertisement

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, पालिका र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ।’

उनले कसैको दबाब र प्रभावमा नपरि उच्च नैतिक आचरण देखाएर जिम्मेवार भइ काम गर्न कर्मचारीलाई निर्देशन दिए। घिसिङले भने, ‘विद्युतको माग बढाउन ग्राहकले माग्न साथ थ्री–फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको काम छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ।’

‘खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मर मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ। वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ’, प्राधिकरणले भनेको छ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिइ कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ।

सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ।

More News last news
Loading...