काठमाडौँ । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो।
नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ। गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो। अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ। भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ। नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ।
बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ। त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ।
बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ। त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ। अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
