सर्वाधिक पूँजीकरणमा यो साता पनि नबिल बैंककै बर्चश्व

काठमाडौँ । नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख पुगेको छ।

यो साता कारोबारको चौथो दिन कुल बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक रू. ४२ खर्ब १६ अर्ब १० लाख बराबरको कुल बजार पूँजीकरणको ऐतिहासिक रेकर्डलाई ब्रेक गर्दै रू. ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजार कुल बजार पूँजीकरण कायम भएको थियो।

Advertisement

गत सातादेखि कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकले यो साता पनि सो स्थान सुरक्षित गरेको छ। यस अघि नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक पूँजीकरण रहेको थियो। धितोपत्र दोस्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको नबिल बैंकको शेयरमूल्य साउन १४ गते बिहीवार प्रतिकित्ता रू। १ हजार ४७७ कायम भएको हो।

यस दिन बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५ ले घटेर कुल बजार पूँजीकरण रू. १ खर्ब ९९ अर्ब १० करोड १९ लाख ३५ हजार पुगेको छ। त्यस्तै दोस्रो बजारमा १५ करोड शेयर सूचीकृत रहेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमुल्य पछिल्लो अन्तिम कारोबार दिन बिहीवार प्रतिकित्ता रू. २ ले बढेर रू. १ हजार ३०३ कायम भएको छ।

यस दिन नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू। १ खर्ब ९५ अर्ब ४५ करोड कायम भएको छ।

कुल बजार पूँजीकरणमा नबिल बैंकले नेपाल दुरसञ्चार कम्पनीलाई रू. ३ अर्ब ६५ करोड १९ लाख ३५ हजारले पछि पारेको हो। गत साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार र नेपाल दुरसञ्चार कम्पनीको रू। १ खर्ब ९४ अर्ब ४० करोड रहेको थियो। गत साताभन्दा दुबै कम्पनीको कुल बजार पूँजीकरण बढेको छ।

पछिल्लो अन्तिम कारोबार दिन नेप्से परिसूचक ३ हजार ७९ दशमलव ८३ विन्दुमा पुगेको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक पनि ७५ दशमलव ५२ अंक माथी पुगेको हो। गत साता नेप्से परिसूचक ३ हजार ४ दशमलव ३१ विन्दुमा रहेको थियो।

More News last news
Loading...