रोजिनाले किराँत राई यायोक्खाका अध्यक्षलाई ‘वाइपास’ गर्दै कार्यबाहक अध्यक्षलाई पत्र लेखेपछि विवाद (पत्रसहित)
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईले आफूँलाई समर्थन जनाउन आग्रह गर्दै किराँत राई यायोक्खा, यूकेलाई लेखेको पत्र सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।
रोजिनाको पत्रका कारण किराँत राई यायोक्खा, यूके भित्र विवाद उत्पन्न भएको हो । रोजिनाले संस्थाकी अध्यक्ष कल्पना राईलाई वाइपास गर्दै कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईलाई सम्बोधन गरी पत्र लेखेकी थिइन् । संस्थाको अध्यक्ष हुँदा हुँदै कार्यबाहक अध्यक्षको नाममा पत्र लेखेको भन्दै यायोक्खाका अधिकांश पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन् ।
पत्रमा रोजिनाले १२ मे मा लेखेको पत्रमा आफूँ आगामी अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न लागेको र आफ्नो उम्मेदवारीलाई संस्थागत रुपमा नै समर्थन गरी आवश्यक सहयोग गर्न आग्रह गरेकी छन् । उनले आफ्नो ‘उम्मेदवारीलाई किराँत राई यायोक्खा, यूकेबाट आधिकारिक रुपमा अनुमोदन गरिदिनु हुन’ भन्ने आग्रह गरेकी छन् ।
कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले रोजिनाको पत्रसहित संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई अर्को पत्र पठाएपछि रोजिनाको पत्र सार्वजनिक भएको हो ।
अध्यक्ष हुँदा हुँदै कार्यबाहक अध्यक्षमार्फत रोजिनाले समर्थन जुटाउन खोजेको र अध्यक्षलाई बाइपास गर्न खोजेको भन्दै संस्थाकै पदाधिकारी र सदस्यहरुले आपत्ति जनाएका छन् । ‘यो हाम्रो संस्थालाई विभाजन गर्ने खेल हो र यसले हाम्रो संस्थाको हित गर्दैन’ किराँत राई यायोक्खा, यूकेका एक पदाधिकारीले भने ।
आफ्नो उम्मेदवारीलाई संस्थाबाट अनुमोदन गराउन रोजिनाले षड्यन्त्र गरेको र कुनै एक व्यक्तिमार्फत पठाइएको पत्रका आधारमा अनुमोदन गर्न नसकिने ती पदाधिकारीको भनाइ छ ।
रोजिनाले किराँत राई यायोक्खालाई आफ्नो मातृ संस्थाको रुपमा चित्रण गरेकी छन् । तर, उनी हिराधन राईसँग बैवाहिक सम्बन्धमा बाँधिएपछि मात्रै राई परिवारमा प्रवेश भएकी हुन् ।
स्मरणीय छ, ३१ जुलाईमा हुने एनआरएनए एनसीसीको निर्वाचनमा अध्यक्ष पदमा रोजिनासँगै प्रेम गाहा मगर र दीपक श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
