कास्कीमा २७४ सहित गण्डकीमा थपिए ४७१ संक्रमित, थप ३ को निधन

काठमाडौँ । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा १३९ जना पुरुष तथा १३५ जना महिला गरी २७४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।

Advertisement

कास्कीका २७४ सहित म्याग्दीका ७ जना, पर्वतका ५ जना, गोरखाका ३९ जना, लमजुङका ३ जना, तनहुँका ३४ जना, बाग्लुङका ३१ जना, स्याङ्जाका २१ जना र नवलपुरका ५७ जना गरी प्रदेशका ९ जिल्लामा २३६ पुरुष तथा २३५ जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६३ हजार १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ।

पोखरामा २ सहित थप ३ संक्रमितको मृत्यु

पोखराका अस्पतालहरुमा २ जना र चितवनको अस्पतालमा १ जना गरी गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४१ पुगेको निर्देशनालयले जनाएको छ।

More News last news
Loading...