काठमाडौँमा कोरोना संक्रमण दर १५ प्रतिशतमा झर्‍यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ। सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ।

पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन्।
महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ।

Advertisement

एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो। अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ।

अघिल्ला हप्तामा अत्यधिक कोरोना सङ्क्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको सङ्ख्या घटेको र आउने मध्येमा पनि थोरैमा मात्र सङ्क्रमण देखिएको छ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ। यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन।

उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ।

६३ हजार सङ्क्रमित निको

हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएका छन्। हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय सङ्क्रमित छन्। कोरोना सङ्क्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन्।

महानगरपालिकामा हाल रहेका सङ्क्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन्।

कोभिड-१९ को सङ्क्रमण विरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरे अनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय सङ्क्रमित छन्। त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय सङ्क्रमित छन्।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० भन्दा बढी छ। विभिन्न ३० जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा माथि रहेको छ।

More News last news
Loading...