मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा, केही कर्मचारी बेपत्ता भएको आशंका

काठमाडौँ । अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन्।

बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ।

Advertisement

त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो।

उहाँका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ। नदी बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन्।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो।

निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पु-याएको छ।

अत्याधिक वर्षाका कारण नदीको तह बढेको भएपनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ।

कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ। प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो।

अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ।

More News last news
Loading...