उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र सुचारु हुने

काठमाडौँ । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरिएको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

Advertisement

यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको उनले बताए। पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ। जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ। हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए। उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो। तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन। उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ।

More News last news
Loading...