पोखरा । नेपाली काँग्रेस स्याङजाद्वारा शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ। शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।
अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौनजुलुस चोकमा पुगेर कोणसभामा परिणत भएको छ। कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी ओलीको सरकारले राष्ट्रिय राजनीतिक मानमर्यादा समेतको धज्जी उडाएको आरोप लगाए ।
पोखरामा नेविसंघको राँकेजुलुस
प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पोखरामा नेविसंघले विरोध प्रदर्शन गरेको छ। पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा शनिबार साँझ राँके जुलुस सहित उनीहरूले संसद विघटनको विरोध गरेका हुन्।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो । नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताए। उनले पोखराबाट सुरु नेविसंघको आन्दोलन देशैभरि गर्ने चेतावनी दिए ।
यस्तै, अर्का पूर्व केन्द्रीय सदस्य भानु ढकाल, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापा, कैलास बराल, विष्णु पहारी, विपीन पौडेल लगायतले सम्बोधन गर्दै कोरोना संक्रमण महामारीको भयावहबीच जनताको जीवनरक्षामा ध्यान नदिइ प्रतिनिधिसभा विघटन गर्ने कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
