काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिए।
बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ। यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।
बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन्। बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ।
सडकमा चहलपहल धेरै रहेकाले अत्यावश्यकबाहेकका सवारीको जाँच तथा कारबाहीलाई थप कडा गर्ने निर्णय पनि भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार (भोलि) राति सकिँदैछ। बिहीवार (पर्सि) देखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू हुने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
