काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ। आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन।
सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ। सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ। बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो।
तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन। बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ।
सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ। यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ।
सोमबार सबै समूहका परिसूचकहरु राताम्य भए। सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले बढी गुमाए।
घटेको बजारमा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने १० प्रतिशत हाराहारी बढेको छ। माछापुच्छ्रे बैक डेबेन्चर, गुडविल फाइनान्स र एसबीएल डेबेन्चरका लगानीकर्ताले समेत कमाए।
रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले बढी गुमाए। सोमबार सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर ३१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
