काठमाडौँ । डा महावीर पुनको नाम नसुन्ने र नजान्ने कमै होलान्। उनी नेपालका एक वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन्।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनले देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान दिदै आएका छन्।
तिनै वैज्ञानिक तथा सामाजिक अभियान्ता पुन सडकको फोहोर टिप्दै गरेको अवस्थामा पनि देखिएका छन्। चक्रपथ सरसफाइ अभियानको २०१ औँ सप्ताहमा प्रमुख अथिति बनेका पुनले सडकमा बिना संकोज फोहोर उठाए।
फोहोर उठाउँदै नजिकै रहेको गाडिलाई पुर्याइदिए। सीतापाइला चोकबाट सुरु भएको सरसफाई कार्यक्रम स्वयम्भू चोक नजिकै पुगेर सम्पन्न भएको थियो। सरसफाइ कार्यक्रममा नियमित सरसफाई अभियन्ता, नेपाल प्रहरी, नेपाली सेना र केही स्थानीयवासीको पनि सहभागिता रहेको थियो।
सरसफाई कार्यक्रममा बोल्दै प्रमूख अतिथि डा महावीर पुनले निस्वार्थ भावले सञ्चालित सरसफाइ कार्यक्रम हजारौँ सातासम्म चलोस् भन्दै शुभकामना पनि दिए। एउटा सामाजिक संस्थाको अभियानमा यति लामो समयसम्म चक्रपथ सरसफाइ अभियान चलेको भन्दै अभियानका संयोजक तथा अभियन्ताहरुको प्रशंसा समेत गरे।
वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन्।
जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ। यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन्।
‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ।
उनीसँग मिलेर सयौँ इन्जिनियर नेपाली परिवेश सुहाउँदो आविष्कारमा केन्द्रित छन् ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
