काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।
संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ।
यसअघि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो।
पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन्।
काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ। बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, चितवनमा २२ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
