काठमाडौँ । इन्धन चोरी र मिसावट कम गर्न नेपाल आयल निगमले वैशाख तीन गतेदेखि लागु गर्न लागेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पेट्रोलियम बिक्रेताले नमान्ने घोषणा गरेका छन्।
देशभरका पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै तयारी र परामर्शविनै निगमले नयाँ प्रणाली ल्याएको भन्दै उक्त प्रणाली नमान्ने निर्णय गरेको जनाएको हो।
निगमले नयाँ प्रणाली वैशाख तीन गतेबाट कार्यन्वयनमा ल्याउँदैछ। ईआरपी कार्यन्वयन गर्न निगमले बिक्रेता नियमावली संशोधन लगायतका समस्याहरु समाधान नगरेको, एसोसिएसनसँग यस अघि भएको समझदारी कार्यन्वनयन नगरेको र सरोकार पक्षलाई आर्थिक प्राविधिक जानकारी समेत नदिइएको आरोप लगाएको छ।
‘राज्यभरका बिक्रेताले हाललाई पुरानै सफ्टवेयरबाट खरिद र रकम भुक्तानीको कारोबार गर्ने निर्णय गरेका छौं,’ माथि उल्लेखित समस्या समाधान गरेपछि मात्रै नयाँ प्रणाली प्रयोगमा ल्याउन सकिने जानकारी गराउन चाहन्छौं।’ एसोसिएसनको निर्णयमा भनिएको छ।
निगमले ल्याउन खोजेको ईआरपी प्रणालीमा राखिने तथ्यांक र पेट्रोलियम बिक्रेता विनियमावली २०७५ अनुससार त्रुटि हुने देखिए पछि केही समयकालागि रोक्न मात्रै आग्रह गरिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले बताए।
‘व्यवसायीहरुलाई प्रणालीबारे निगमले यथेष्ट सूचना र जानकारी दिएको छैन, हाम्रा बिक्रेतालाई जानकारी दिएर मात्रै कार्यान्वयनमा ल्याउ भनेको हो तर निगमले उद्घाटन गर्ने हतार गर्यो,’ अध्यक्ष प्रधानले भने। अटोमेसनमा जान व्यवसायी पनि आतुर रहेको भन्दै अध्यक्ष प्रधानले नयाँ प्रणालीको सुरक्षाबारे पनि गम्भीर प्रश्न उठेको बताए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
