पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा दिएका हुन्।
बुधबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका छन्।
बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका थिए। २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए।
एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुखको पद बाँडिएको थियो। ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी र राजमोको समर्थन छ। प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
