नक्कली हवाई टिकट बेच्ने एनआरएनका कोषाध्यक्ष निलम्बित !

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने संघका कोषाध्यक्षलाई निलम्बन गरेको छ। संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो।

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।

Advertisement

कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए।

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६ सय २० यूरो अर्थात् ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका पीडित विजय धिमालले बताए ।

सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ। प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ।

सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताउनुभएको छ। पोर्चुगलमा अवस्थित नेपाली संघ संगठनले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन्।

More News last news
Loading...