दुलेगौँडा । बाग्लुङको गल्कोट नगरपालिकाले शुक्लागण्डकी प्रथम मेयर कप उचालेको छ। शुक्लागण्डकी नगरपालिकाको आयोजनामा गाउँफर्कोदय मा वि गणपती ढोरफिर्दीको खेल मैदानमा सञ्चालित गण्डकी प्रदेश स्तरीय खुला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि कब्जा गरेको हो।
पहिलो सेटमा शुक्लागण्डकीका खेलाडीले कमजोर प्रर्दशन गर्दा गल्कोटले २५–१६ को नतिजा प्राप्त ग-यो । घरेलु मैदानमा समर्थकको बाक्लो साथ पाएको शुक्लागण्डकीले दोस्रो सेट भने प्रतिस्पर्धात्मक तरिकाले २६–२४ स्कोरमा जित हासिल गर्यो।
तेस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–१६ स्कोर प्राप्त गर्दै गल्कोटले उपाधि कब्जा गर्न सफल भयो । गल्कोटले उपाधि सहित नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
घरेलु मैदानको फाइदा लिन नसकेको शुक्लागण्डकीले नगद एक लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
शुक्लागण्डकी ‘ए’ शनिबार भएको पहिलो सेमिफाइनलमा घिरिङ गाउँपालिकालाई हराउदै फाइनल यात्रा तय गरेको थियो। गल्कोटले कास्कीको मादी गाउँपालिकालाई हराउदै शुक्लागण्डकीसंगको उपाधि भिडन्त पक्का गरेको हो।
सेमिफाइनलमा पराजित घिरिङ र मादीबिच तेस्रो स्थानका लागी भएको खेलमा मादीले सफलता हासिल गर्यो। मादीले घिरिङलाई २५–२३, २७–२९, २५–२२ र २५–२० स्कोर प्राप्त गर्दै ४–१ को सेटमा पराजित गरेको छ। तेस्रो भएको मादीले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। सान्त्वना घिरिङले २५ हजार रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गल्कोटका विमल परियार घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए। बेष्ट स्पाईकर मादीका सफल विक, बेष्ट सेटर गल्कोटका मिन सुनार, बेष्ट ब्लकर शुक्लागण्डकी ‘ए’ का मिनबहादुर कुमाल, बेष्ट डिफेन्डर गल्कोटका रिजन राना र उदयमान खेलाडी शुक्लागण्डकी ‘ए’ का प्रदिप गुरुङ घोषित भए। उनीहरुले जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन्।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, शुक्लागण्डकीका मेयर किसान गुरुङ, उपमेयर सविता रसाईली लगायतले पुरस्कृत गरे।
शुक्रबारदेखी सुरु प्रतियोगितामा तनहुँसँगै कास्की, स्याङजा, नवलपुर र बाग्लुङका १३ टिमले सहभागिता जनाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
