बेशीसहर । लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।
दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जीप बिहीबार साँझ सवा पाँच बजे ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा आयोजनामा कार्यरत दुई जना इन्जिनियर र जीप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन्।
धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन्।
विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जीप चढेका थिए। घाइतेहरुको सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचार भइहको प्रहरीले जनाएको छ।

गोरखामा एक जनाको ज्यान गयो
गोरखाको आबुखैरेनी सडक खण्डअन्तर्गत नौ किलोमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको ज्यान गएको छ । गोरखाको हंसपुरका ३२ वर्षीय केशव दवाडीको ज्यान गएको हो।
गम्भीर घाइते भइ उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा दवाडीको ज्यान गएको प्रहरीले जनाएको छ।
गोरखा बजारबाट चितवन जाँदै गरेको ग १ ख ४५२२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको वागमती प्रदेश ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो पौने ३ बजेतिर ठोक्किएका हुन्।
दुर्घटनामा गोरखा सिरानचोक ८ का १७ वर्षीय मोटरसाइकल चालक विशाल पन्त घाइते भएका छन्। उनको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
यो सँगै बिहीबार लमजुङ र गोरखामा भएका दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने ४ जना घाइते भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
