सञ्चालक पक्राउ परेपछि अन्नपूर्ण मिलले तिर्‍यो किसानको १७ करोड बढी बक्यौता

सर्लाही । वर्षौंदेखि उखु किसानको करोडौँ रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ।

गत माघ १४ गते काठमाडौँ त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो।

Advertisement

माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेकोमा मंगलबार २ करोड १० लाख ६३ हजार र बुधवार २ करोड ३२ लाख ८० हजार गरि जम्मा १७ करोड ७ लाख १४ हजार भुक्तानी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार भुक्तानी दिनुपर्ने रकम त्यति नै देखिए पनि किसानहरुले दाबी गरेको रकम अझै बाँकी हुन सक्ने बताए।

पौडेलले कुनै किसानले पाउनु पर्ने बाँकी भए उपलब्ध गराउनका लागि ४ करोड ७ लाख रुपैयाँ खातामा राखिएको बताए।

अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही लगेको।

अग्रवाल नै सञ्चालक रहेको नवलपरासीस्थित इन्दीरा सुगरमिलले करीब ४ करोड ७० लाख रुपैयाँ दिन बाँकी रहेको बताइएको छ।

More News last news
Loading...