आजदेखि लमजुङको बेँसीसहर-चामे सडक तीन दिन बन्द हुने

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीसहर-चामे सडक तीन दिनका लागि बन्द गरिने भएको छ।

लमजुङ र मनाङ जोड्ने त्यस सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान (आज) १०:०० बजेदेखि बिहीबार राति १०:०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो।

Advertisement

त्यस सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र त्यस ठाउँमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको गाडी आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए।

उनले भने, ‘डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयबाट प्रशासनलाई त्यस सडकमा सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै त्यस समय बन्द गर्न लागेका हौँ।’

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनकाअनुसार त्यस स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसिसी) कार्य गरिने भएको छ।

नेपाली सेनाले भीर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो।

More News last news
Loading...