हिमालय र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य

काठमाडौँ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई-कमर्स कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी भएको छ।

एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा दुवै कम्पनीका प्रतिनिधिहरूले बुधवार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन्।

Advertisement

हिमालय एअरलाइन्सले अहिले मध्यपूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालभर आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ।

सम्झौताअनुसार दुवै एअरलाइन्सले आ–आफ्नो टिकट जारी गर्न, नयाँ सेवालाई समावेश गरेन, यात्रुहरूलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने जनाएका छन्।

यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीले जनाएका छन्।

कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए।

व्यवसाय विस्तारका लागि नयाँ मार्गहरू खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्त्वपूर्ण हुनेछ, उनले भने। यस सहकार्यले व्यवसायलाई बढाएर राजस्वमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रूपमा पाउँदा आफूहरूलाई खुसी र उत्साहित बनाएको बताए । यस सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत रिमालले यस समझदारीले दुवै एअरलाइन्सका यात्रुहरूले थप लाभ प्राप्त गर्न सक्ने बताए।

More News last news
Loading...