माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौँ । कोभिड-१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्।

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन्।

Advertisement

अनलाइन तथा रेडियो/टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो।

कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए।

ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ। हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन्।

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत (आठौँ) मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो।

उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन÷चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो। काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन्। यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन्।

कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।

काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो।

भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो।

More News last news
Loading...