काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाको पक्षमा चौतर्फी विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन्।
सञ्चालक समिति बैठकले बिहीबार बिहान शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि सरकारले कोइरालालाई बैंकको अध्यक्ष बनाउन पठाइए पनि चौतर्फी विरोध भएपछि शर्मालाई नियुक्त गरिएको हो ।
विरोधकै कारण सरकारले नियुक्त गरेको ४० दिनपछि (गत असोज दोस्रो साता) कोइरालाले सञ्चालकको शपथ लिएका थिए । सञ्चालकमध्येबाटै अध्यक्ष चुन्ने व्यवस्थाअनुसार कोइरालालाई अध्यक्ष बनाउने बैंकको योजना थियो।
कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले नियुक्त गरेका थिए । विष्णु पौडेल अर्थमन्त्री बनेपछि अर्थ मन्त्रालयबाट शर्मालाई अध्यक्ष बनाउन निर्देशन आएपछि बैंक सञ्चालक समितिले उनैलाई अध्यक्ष चुनेको हो ।
बिहीबारको बैठकमा सञ्चालक जनककुमार बरालले शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव पेस गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण पाँच महिनासम्म पनि बैंक अध्यक्षविहीन थियो ।
मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले गत भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो ।
त्यसपछिको बैंक सञ्चालक समितिको पहिलो बैठक (भदौ १०) मा कोइरालालाई अध्यक्ष चुन्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाको विषयमा चौतर्फी विरोध भएपछि उक्त दिन बैठक बस्न सकेन । त्यसपछिका कुनै पनि बैठकमा यो विषयले प्रवेश पाउन सकेको थिएन ।
गत असोज १५ मा मात्र कोइरालाले सञ्चालकको शपथ लिएका थिए । कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए ।
उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक लाभको पद पाउने गरेको टिप्पणी हुने गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
