काठमाडौँ । भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ।
भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ।
बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ।
भारतको झारखण्ड, हिमाञ्चल, गुजरात, केरला, मध्यप्रदेश, राजस्थान, महाराष्ट्रलगायतका ठाउँमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको भन्दै कडाइ गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
