ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् ।
केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ।
चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए।
त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निराश बने ।
‘भाउ बढेर रु एक लाखभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेँ, धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेँ, तर भने जस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गयो, अन्नपात पनि किनेर जोहो गर्नुपर्ने अवस्था आयो’, सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलैँची कृषक राजकुमार भट्टराई भन्छन्।
भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन।
भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
