मकवानपुर । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सात वटा रुट (मार्ग) तयार गरेको छ।
मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाण्डौ उपत्यका र धादिङबेसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ।
यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए।
उनले सोमबार कुराकानी गर्दै चार्जिङ स्टेशन निर्माणका लागि एक सय १९ पालिकालाई सूचना आह्वान गरिसकिएको बताए ।
उनका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ पालिकाले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशय पत्र मन्त्रालयमा पठाइसकेका छन्।
चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित पालिका र प्रदेश सरकारले संयुक्त रूपमा गृहकार्य गरिरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
