काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्।
देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।
विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ।
कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तरपुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
परीक्षा मंसिर १६ मा सकिनेछ। सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो।
४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ।
गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
