काठमाडौं । अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको हो।
यसअघि जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो। उक्त खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध हुने पनि बताइएको थियो।
यी खोप विकासको समाचारले महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको बताइएको छ।
मोडेर्नाको खोप विभिन्न चरण र प्रक्रियाअनुसार अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको बीबीसीले जनाएको छ।
‘हामीले गरेका चरणबद्ध परीक्षणका आधारमा यो खोपको प्रभावकारिता धेरै राम्रो पाएका छौं,’ मोडेर्नाका प्रमुख मेडिकल अफिसर टल जाक्सका भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।
कम्पनीले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार फरक पर्नेछ।
यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउने पनि मोडेर्नाले जनाएको छ। आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
