काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २–० ले पराजित गरेको हो।
नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको छ। सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो।
बंगलादेशले खेलको दुवै हाफमा एक–एक गोल गरेको हो। खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसपछि नेपाल बराबरी गोल फर्काउन प्रयासरत रह्यो।
तर दोस्रो हाफमा बंगलादेशले दोस्रो गोल गर्दा नेपालले भने गोल गर्न सकेन। ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे।
मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो। नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटल क्वारेन्टिनमा बसेका नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
