काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन गरेका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार नै नेपाल आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी पत्नी विना पनि भ्रमणमा आएकी छन् ।
नरवणेले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरलगायत पुरातात्विक महत्त्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गइ कोभिड–१९ का कारण वाग्मती नदी पारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे।
नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
