नोबेलले दशैं बोनसबापत कर्मचारीलाई बाँड्यो १ करोड २६ लाख

बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ।

निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउनका लागि बोनस दिएको हो।

Advertisement

९८० जना कर्मचारीलाई दशैं बोनस बापत ९५ लाख १३ हजार रकम वितरण गरिएको नोबेल अस्पतालले जनाएको छ।

त्यस्तै अन्य संस्थामार्फत सम्झौता भएर नोबेलमा कार्यरत सुरक्षागार्ड, सफाई कर्मचारी लगायतलाई बोनासका लागि नोबेलले करिब ३१ लाख २८ हजार रकम सम्बन्धित संस्थालाई यसअघि नै उपलब्ध गराइसकेको छ।

प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन्। नोबेलमा काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम ८ हजार ४ सय ५५ देखि अधिकतम ४० हजार रुपैयाँसम्म बोनस पाएका छन्।

कोरोनाको महामारीका कारण अन्य क्षेत्रजस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा. सुनिल शर्मा बताउँछन्। कोरोनाको महामारीका बेला दशैंको मुखमा बोनस पाउँदा कर्मचारीहरु पनि उत्साहित भएका छन्।

कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिदै आएको नोबेलले हरेक बर्ष कर्मचारीहरुलाई दशैं बोनस पनि वितरण गर्दै आएको छ।

भरपर्दो उपचार र गुणस्तरीय चिकित्सा शिक्षाका कारण लोकप्रियता कमाएको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सबैभन्दा ठूलो शिक्षण अस्पताल हो।

More News last news
Loading...