काठमाडौँ । आज बिहानदेखि ललितपुर जिल्लामा कर्फ्यू लगाइएको छ। बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो।
ललितपुर पुल्चोकमा बिहीबार कोरोनाको महामारीकाबीच निषेधाज्ञा उल्लङ्घन गरी स्थानीय युवाले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच हिंसात्मक झडप भएको थियो। आज पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए।
ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ।
बिहीबार कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो। सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको थियो भने स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए।
झडपमा सुरक्षाकर्मीसहित केही घाइते भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
