काठमाडौँ । पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन भइरहेको नाइटक्लबमा प्रहरीले छापा मारेको छ। प्रहरीले छापा मार्दा भएको भागदौडमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पेरुको लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो। प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन्।
यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए। अब छापा मार्दा संलग्न प्रहरीको पनि कोरोना जाँच गरिनेछ।
दक्षिण अमेरिकी देशहरुमा पेरु कोभिड–१९ बाट धेरै प्रभावित हुने देशहरु मध्ये पर्दछ। हालसम्म त्यहाँ ५ लाख ७६ हजार संक्रमित फेला परेका छन् भने हालसम्म २७ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
देशमा गत मार्चदेखि रात्रिकालिन समयमा कर्फ्यू लागू गरिएको छ भने ठूला भेलाहरु प्रतिबन्ध गरिएको छ।
पेरुका गृहमन्त्रीका अनुसार करिब १२० जना उक्त गैरकानुनीरुपमा आयोजित जन्मदिनको पार्टीमा सहभागी थिए । प्रहरीले त्यहाँ छापा मारेपछि उनीहरु साँघुरो बाटो हुँदै भाग्ने प्रयास गरेका थिए । घटनामा २० देखि ३० वर्ष उमेर समूहका ११ पुरुष र २ महिलाको निधन भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
