काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनचेतना र अभिप्रेरणा मार्फत् मानिसहरुमा मानवीय भावना विकास गर्नुपर्ने बताएका छन् ।
यूवा केन्द्रीत कार्यक्रम बनाएर उनीहरुलाई जागरण गराउन, असल भावना जगाउन, सकारात्मक सोँच बनाई स्वनिर्भर बनाउने तर्फ ध्यान दिन नेपाल रेडक्रस सोसाइटी (नेरेसो) लाई प्रधानमन्त्री ओलीले आग्रह गरे।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को नवगठित तदर्थ समितिका पदाधिकारी, सदस्यहरु र उच्च पदस्थ कर्मचारीलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको परिचयात्मक भेटको क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, “रेडक्रसप्रति जनता र सरकारको अपेक्षा तथा भरोसा छ र यो विश्वासलाई सुदृढ बनाउन तर्फ नयाँ समितिलाई सफलता मिलोस”। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, पूर्व सभामुख सुभास चन्द्र नेम्वाङ तथा सचिवालय अधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाको तत्कालीन केन्द्रीय कार्यसमितिलाई भंग गर्नुपर्ने औचित्यबारे स्पष्ट पार्दै मन्त्री गुरुङले रेडक्रसको सिद्धान्त बमोजिम कार्यसञ्चालन होस् भनी निश्चित आधार बनाई समाजकल्याण ऐनको दफा २० बमोजिम तदर्थ समिति बनाइएको जानकारी दिए।
रेडक्रसको अन्तर्राष्ट्रिय सञ्जालको महत्व र नेपाल रेडक्रसको क्षमताबारे चर्चा गर्दै नेपाल रेडक्रसका नबनियुक्त अध्यक्ष डा. नेत्र तिम्सिनाले नेपाल रेडक्रसको विधानमा सुधार, दर्ता नवीकरण, ऐन निर्माण, बैधानिक सुदृढीकरण, सम्पत्तिहरुको अभिलेखिकरण र सदुपयोग नयाँ समितिको प्राथमिकता रहेको बताए।
उनले भने, पारदर्शिता र जवाफदेहिता, आचारसंहिताको परिपालना, अनियमिततामा शुन्य शहनशीलता र विशुद्ध स्वयंसेवा हाम्रो प्रतिबद्धता हो।
भेटघाटमा प्रधानमन्त्री ओलीले विगत ५६ वर्षमा रेडक्रसले गरेको विपद् व्यवस्थापन, संकटको समयमा सेवा, रक्तसञ्चार लगायतको मानवीय सेवाको बारेमा आफू जानकार रहेको बताउँदै बालकोट उपशाखामा पञ्जीकरण हुने गरी मंगलबार नै रेडक्रसको आजिवन सदस्यता पनि लिएका छन्।
कोभिडको समयमा शुरक्षित भई रक्तदान गर्नु गराउनुको महत्वबारे चर्चा गर्दै र रक्तसञ्चार सेवा कार्यक्रमको प्रशंसा गरे । प्रधानमन्त्रीले सबै तहको साथ, समर्थन विश्वास भएको संस्था रेडक्रस भएकोले आफ्नो पनि स्वभाविक चासोको विषय भएको बताए ।
रेडक्रस लगायतका संस्थाहरुसँग मानवीय हितको क्षेत्रमा सहकार्य गर्न सरकार तयार रहेको र त्यस्तो सहकार्यमात्र फलदायी हुने प्रमाणहरु रहेको पनि उनले व्यक्त गरे ।
नयाँ समितिलाई प्रतिबद्धता पूरा गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “मानवजीवनको अफ्टेरोलाई सहज बनाउन क्रियाशिल रेडक्रसलाई जनताले कुनै विपद् परेमा सरकार सँगसँगै सम्झिन्छन् , त्यसैले पवित्रसँस्थामा पवित्र कार्य गर्नुहोस, दानसहयोगहरु लिँदा सिद्धान्त बमोजिम छ छैन विचार गर्नुहोस, पारदर्शीरुपमा स्रोत ल्याउनुहोस, र होसियारीपूर्वक ग्रहण, संरक्षण र उचित परिचालन गर्नुहोस् ।” सेवाको क्रममा क्षेत्रीयता, राजनैतिक आस्था, भूगोल, जातियता जस्ता कुरा कहिँकतै नदेखियोस भन्दै उनले स्रोतको दुरुपयोग सह्य नहुने कुरामा जोड दिए।
असल नियत र इमान्दारी भएपनि रित नमिलाई, श्रेस्ता नराखीकन कुनै काम गरियो भने समस्यामा पर्न सकिने भएकोले उपयुक्त दस्तावेज सहित राम्रो लेखा पद्यती, अभिलेखन र पादरर्शितामा ध्यान दिन पनि उनले सबैपक्षलाई सचेत गराए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
