वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवलाई पनि कोरोना संक्रमण देखिएको छ ।
काभ्रेस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन्।
यस्तै मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् । ज्वरो र खोकी लागेपछि मेयर रौनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए । ७ दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ आए पनि मेयर रौनियारको ज्वरो र खोकी निको भइसकेको छ।
पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् । यसअघि नै पोखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
