काठमाडौँ । प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ।
साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो। पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टूल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरैअघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए।
प्रयोगकर्ताले फोटो र सन्देशहरु डिलिट गरेको केही दिनसम्म कम्पनीहरुको सर्भरमै रहनुलाई सामान्य मानिन्छ। इन्स्टाग्रामले पनि प्रयोगकर्ताले डिलिट गरेको फोटो र सन्देशहरु आफ्नो सर्भरबाट डिलिट हुन ९० दिन लाग्ने जनाएको छ।
तर, आफूले एक वर्षअघि डिलिट गरेको तथ्यांकहरु पनि इन्स्टाग्रामको सर्भरमै रहेको थाहा पाएपछि गत अक्टोबरमा पोखरेलले कम्पनीलाई जानकारी गराएका थिए। ट्वीटर, इन्स्टाग्राम र फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरुको केके तथ्यांक कम्पनीको सर्भरमा छ भन्ने जानकारी दिनको लागि डाटा डाउनलोड टूलको पहुँच दिएको छ।
अमृत साइन्स क्याम्पसमा फिजिक्समा बीएसस्सी अध्ययनरत पोखरेलले कम्पनीले आफूलाई सुरक्षा कमजोरी पत्ता लगाएबापत् ६ हजार अमेरिकी डलर दिएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
