सौराहामा होटल खुले, ग्राहक आएनन्

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन्। होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन्।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए।

Advertisement

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन्।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए।

घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।” आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन्।

लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ। शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ।

More News last news
Loading...