काठमाडौँ । पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ। उनको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ।
रोल्पाको थवाङ घर भएका उनको ९० वर्षको उमेरमा निधन भएको हो। उनको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो।
बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए। जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए। त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए।
तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बर्मन बुढा होमिएका थिए। माओवादी पार्टीमा आएको विभाजनप्रति उनी असन्तुष्ट थिए।
बुढाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्ति गरेका छन्। बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको भन्दै प्रचण्डले भावपूर्ण श्रद्धाञ्जली व्यक्ति गरेका छन्।
‘बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
