काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रुपमा फैलिएको सलह किरा नियन्त्रण तथा रोकथामको माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएको छ। सलह किरा नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै बिहीबार संसदमा संकल्प प्रस्ताव दर्ता भएको हो।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सलह किरा नियन्त्रण तथा बालीनाली जोगाउन प्रभावकारी कदम चाल्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावमा पद्म नारायण चौधरी र मीना सुब्बाले समर्थन गरेका छन्।
केन्याबाट सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, खाडी मुलुकहरु, इरान, पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपाल भित्रिएका सलह किराले विशेषगरी कृषक वर्गलाई संकटमा पारेको भन्दै कांग्रेस सांसदहरुले संकल्प प्रस्ताव दर्ता गराएका हुन्। यो किराले विश्वको २० प्रतिशत भूभाग र एक दशांश जनसंख्यालाई यसले चुनौती दिन सक्ने आँकलन छ।
‘कुनै पनि रोगव्याधि, किटाणु र किरा फट्ङ्ग्रा आदिले समेत मानिस लगायत बालीनालीमा पु-याउने असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्था छ।
त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउनका लागि’, संकल्प प्रस्तावमा भनिएको छ, ‘सलहको बथानलाई रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न । स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरु परिचालित भै किरा नष्ट गर्न र खाद्यान्य बालीनालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्न।’
उनीहरुले कृषि क्षेत्र नै भरपर्दो क्षेत्र भन्दै आएको सन्दर्भका एक्कासी सलहको बथानले कृषि बालीमा पु-याएको क्षति एवं कृषकलाई मानसिक र आर्थिक रुपमा पुर्याएको नोक्सानीलाई सरकारको तर्फबाट अभिभावकत्व निर्वाह गरी क्षतिपूर्ति समेतको व्यवस्था गर्न पनि माग गरेका छन्।
भारतको सीमा क्षेत्र हुँदै मुलुकको अन्नभण्डारको रुपमा रहेको मधेस/तराईबाट प्रवेश गरेको सलह अहिले पहाडी र हिमाली क्षेत्रमा समेत प्रवेश गरिसकेको छ।
तराईको भूभाग सर्लाही, पर्सा, बारा, रुपन्दहेही, कपिलवस्तु, पाल्पा, महोत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, स्याङ्जा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोक गरी करिब ५२ जिल्लामा प्रवेश गरिसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
