युरोपमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि डब्लूएचओले दियो कडा चेतावानी

लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा.हान्स हेनरी क्लुगले जानकारी दिए ।

आफूले यसबारे पहिले नै जानकारी दिएको र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए ।

Advertisement

यसलाई वेवास्ता गरिए स्वास्थ्य क्षेत्र अत्यधिक धराशयी हुनेसमेत उनले चेतावनी दिए ।

विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् । दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ ।

‘मैले पछिल्लो थुप्रै हप्तादेखि कोरोनाको संक्रमण पुनः फैलन सक्ने बारे कुरा गरिरहेको थिएँ,’ डा.क्लुगले भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार भने ।

‘युरोपका थुप्रै देशमा यस्तो खतरा वास्तविकतामा परिणत भइसकेको छ । पछिल्लो दुई हप्तामा ३० देशमा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।’

‘तीमध्ये ११ देशमा संक्रमितको संख्या यति तीब्र गतिले बढिरहेको छ कि यसमा ध्यान नदिए त्यहाँका स्वास्थ्य क्षेत्र पुनः अत्यन्त धराशायी बन्नेछन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ती ११ देश र क्षेत्रको पहिचान अर्मेनिया, स्विडेन, मोल्डोभा, उत्तर मेसेडोनिया, अजरबैजान, काजकस्तान, अल्बानिया, बोस्निा हर्जगोभिना, किर्गिस्तान, युक्रेन र कोसोभोको रुपमा भएको छ ।

डा.क्लुगका अनुसार पोल्याण्ड, जर्मनी, स्पेन र इजराइलले स्कूल, कोइला खानी र खाद्य सामग्री उत्पादनमार्फत् हुने यसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्काल उचित कदम उठाएका कारण यहाँ संक्रमण नियन्त्रणमा छ । संक्रमण पुनः बढ्ने चेतावनी दिएतापनि विश्व स्वास्थ्य संगठनले गर्मीयाममा थुप्रै देशमा स्थिती साम्य हुने अनुमान गरेको थियो ।

More News last news
Loading...