अमेरिकामा दुई करोड मानिस कोरोना सङ्क्रमित भएको आशंका

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन्।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ।

Advertisement

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो। अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ।

अमेरिकामा सङ्क्रमित
त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ। केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन्।

वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ। तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ।

‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण छन्,’ सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले संवाददाताहरूलाई भने। त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको उनले बताए।

उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतस् महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला।’

उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरे।

More News last news
Loading...