कास्की । युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष कास्कीका तीन गाउँपालिकामा स्थानीयस्तरको रङ्गशाला (लग्राम) निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले स्थानीय तहसँगको लागत साझेदारीमा देशका ७५३ वटै पालिकामा एकरएकवटा स्थानीयस्तरको खेल ग्राम निर्माणको योजनाअनुसार चालू वर्षमा ८४ वटा पालिका छनोट गरिएकामा कास्कीमा माछापुच्छ्रे, अन्नपूर्ण र रुपा गाउँपालिकामा खेल ग्राम निर्माण गर्न लागिएको हो। सम्बन्धित पालिकामा खेल पूर्वाधार निर्माणस्थल छनोट गरी काम शुरु गर्न लागिएको छ।
खेल ग्राम निर्माणका लागि आह्वान गरिएको प्रस्तावअनुसार मन्त्रालयले चालू वर्षमा छनोट भएका प्रत्येक पालिकामा रु ५० लाख बजेट पठाएको छ भने त्यसको ३० प्रतिशत सम्बन्धित स्थानीय तहले साझेदारी गर्नुपर्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए ।
बालबालिका, युवा, प्रौढ तथा बयस्कको शारीरिक, मानसिक तथा सङ्वेगात्मक विकास र व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेकाले स्थानीय तहदेखि नै योजनाबद्धरुपमा देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र विकासका लागि सरकारले पालिकामा खेल ग्राम निर्माणको योजना बनाएको उनको भनाइ छ ।
मन्त्री विश्वकर्माले भने, “प्रत्येक स्थानीय तहमा दीर्घकालीन महत्वको एकरएकवटा खेलकूद पूर्वाधार निर्माण गर्न आवश्यक खेल विधाअनुसारका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरी पठाइएको छ । आगामी वर्षसमेत कार्यक्रम निरन्तर सञ्चालन हुनेछ ।”
मन्त्रालयले तयार गरेको स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधिअनुसार माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यमिक विद्यालयसँगैको मैदानमा ४५ रोपनीमा फुटबल मैदान बन्ने छ ।
अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविको फुटबल मैदानलाई स्थानीयस्तरको रङ्गशाला बनाउने योजनाअनुसार प्यारापिटलगायत संरचना निर्माण गरिने गाउँपालिका स्रोतले जनाएको छ।
यस्तै रुपा गाउँपालिका–६ को भिरचोकलाई खेल ग्रामका लागि छनोट गरेको छ । भिरचोकमा १० रोपनी जमीनमा भलिबल कोर्ट, एथ्लेटिक ट्राक लगायतका संरचना बनाउनका लागि प्रारम्भिक काम शुरु भएको गाउँपालिका स्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
