काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लकडाउनको उपयोग गरी कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । यस बाहेक बैठकले आउँदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।
देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न कांग्रेसले माग गरेको हो ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ।
कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
