काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।
इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन एनआरएनले जहाज चार्टर गर्न लागेको हो ।
एनआरएनका अध्यक्ष तथा एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार प्रवेशाज्ञासहित सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर नेपालमा रोकिएका एक हजार तीन जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चार्टर गर्ने प्रक्रिया संस्थाले अघि बढाएको हो ।
वाइडबडी जहाज कोरिया पठाउन निगमसँग आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको जनाइएको छ । एनआरएनका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संस्थाले पहिलो चरणमा रु १० लाख धरौटीसहित आज प्रारम्भिक सम्झौता गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
